श्रमिकलाई राहत दिन माग

0
Shares

सरकारले देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

पूर्व प्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा लगायतले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको हो ।

“रोगबाट बच्न खोज्दा भोक स्वीकार्नुपर्ने बाध्यता नहोस्”, विज्ञप्तिमा भनिएको छ, “सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ, त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतन सहितको बिदा, बालबच्चाको स्कूलमा शुल्क मिनाहा, निःशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारमार्फत कार्यान्वयन गर्न सकिन्छ ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले रासससँग कुरा गर्दै सरकारले विपद्बाट बच्न लकडाउन गर्नु सकारात्मक काम भएको बताए। उनले भने, “तर, दैनिक काम गरेर जीवन धान्नेका लागि सरकारले व्यवस्था गर्नुपर्छ ।”

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  १८ : २६ बजे