कोरोना त्रासः गाउँतिर सालको पातको मास्क 

0
Shares

विश्वभर कोरोना भाइरस फैलिएको छ । आम मानिस कसरी जोखिने भन्ने त्रासमा छ । कोरोनाको संक्रमणबाट जोखिन कसैले तीनपत्रे मास्क लगाउन सुझाव दिइरहेका छन् तर कसैले ‘एन ९५’ । तर, भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा कोरोनासँग बच्न सर्वसाधारणहरु घरमै सीमित भएर आवश्यक सुरक्षा तथा सतर्कताका उपायहरु अवलम्बन गर्न थालेका छन् ।

स्थानीयबासीले भने सालको पातको मास्क बनाएर लगाउन थालेका छन् । काँकेर जिल्लाको अन्तागढमा पञ्चायत भवनमा आयोजना गरिएको बैठकमा आदिवासीहरु पातको मास्क लगाएर आएका थिए । भर्रीटोला गाउँका एक युवकले भने, ‘हामीसँग अर्को मास्क छैन, त्यसैले घरबाट बाहिर निस्कनु पर्दा हामी पत्ताकै मास्क लगाएर हिँड्छौँ ।’

एउटा स्थानीय न्यूज वेबसाइटका लागि काम गर्दै आएका टोकेश्वर साहुका अनुसार पातले बनाइएको मास्क ग्रामिण क्षेत्रमा लोकप्रिय भइरहेको छ । ‘हेर्दा हेर्दै यस्तो मास्क कयौँ गाउँमा प्रचलनमा आइसकेको छ, आदिवासीहरुले दिनभर यो मास्क लगाउँछन्,’ उनले भने, ‘अर्को दिनका लागि फेरि नयाँ बनाउँछन् ।’

चिकित्सकहरुका अनुसार यस्तो मास्कले कोरोना संक्रमणबाट केही हदसम्म जोखिन सकिन्छ । खोक्दा अथवा हाच्छिउँ गर्दा भाइरस सोझै अरुमा पुग्न नसक्ने भएकाले केही हदसम्म यस्तो मास्कले पनि रोग फैलनबाट जोगाउन सक्ने उनीहरुको भनाइ छ । यद्यपि यस्तो मास्कले श्वास फेर्न भने कठिन हुन सक्ने उनीहरुको भनाइ छ ।

रायपुरका चिकित्सक डा. अभिजित तिवारी भन्छन्, ‘आदिवासी समाजले वर्षौं पुरानो परम्परा र ज्ञानले हामीलाई समृद्ध बनाउँदै आएको छ । उनीहरुको पारम्परिक ज्ञानले हामीलाई हमेसा चकित पार्दछ । तर कोरोनाको सवालमा उनीहरु पनि अरु नागरिकजस्तै आ–आफ्नो घरमा बसुन् ।’ उनले सरकारलाई आदिवासी क्षेत्रमा कपडाका मास्क निःशुल्क वितरण गर्न पनि आग्रह गरे ।

बस्तर क्षेत्रका आदिवासीहरुको जीवनमा पत्ताको निकै महत्व छ । उनीहरु खाना खानका लागि पनि साल, सिउडी, पलासको पत्ता प्रयोग गर्दछन् । पत्ता गाँसेर टपरी, दुना बनाउने चलन छ । 

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  ०८ : २० बजे