हतार गरेर विद्यालय र पसलहरू खोल्दा कोरोना फर्किने चेतावनी

0
Shares

विश्व स्वास्थ्य संगठनले हतार गरेर विद्यालय तथा पसलहरू खोल्दा कोरोनाभाइरस फेरि आएर चर्किने सम्भावना रहेको चेतावनी दिएको छ।

‘विभिन्न देशहरूले बन्दाबन्दी र यात्रा प्रतिबन्धलाई खुकुलो बनाउनका लागि आकलन गरिरहेको हामीले थाहा पाएका छौं । तर देशहरूले बन्दाबन्दीका बेलामा कस्तो स्वास्थ्य उपाय अपनाउँछन् भन्नेमा यसको उत्तर लुकेको छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुसले बताए ।

उनले भने, ‘मानिसहरूलाई घरैमा बस्न भनेर अनि बाहिर निस्कन नदिएर स्वास्थ्य सेवामा दबाब कम गर्न खोजिएको छ । तर यी उपायले मात्र महामारीलाई अन्त्य गर्न सकिन्न ।’

‘अहिलेका उपायहरू संक्रमण रोक्नका लागि सबभन्दा प्रभावकारी छन् र यसलाई जारी राखेमा बल्ल नियन्त्रण हटाएपछि कोरोनाभाइरस फर्किंदैन । तर कुनै सरकारले विद्यालय र पसल खोलेपछि कोरोनाभाइरस फर्केर आयो भने बन्द गर्नुको विकल्प हुँदैन,’ उनले भने ।