नेपालमा चौथो व्यक्तिमा कोरोना पुष्टि, धनगढीमा भेटिए अर्का संक्रमित

0
Shares

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनी कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा  उपचाररत रहेको  जानकारी दिएका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी ३४ वर्षको रहेका छन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा उनीमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  जस मध्ये १ जनाको उपचारपछि निको भईसकेका छन् भने २  जनाको उपचार भईरहेको छ ।

दुई दिनअघि नेपालका तेस्रो व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको थियो। धादिङका ती व्यक्ति कतारबाट फर्केका थिए। त्यसअघि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका थिए।

दोस्रो र तेस्रो सङ्क्रमित नेपालीसँगै विमानमा आएका मानिसहरूलाई सम्पर्कमा आइदिन सरकारले सार्वजनिक अपील गरिसकेको छ।

कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए।

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  १९ : १९ बजे