३८ लाख घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट

0
Shares

नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले एक सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित ‘लकडाउन’ को समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बताए । 

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ ।

३८ लाख ग्राहकलाई एक सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुन्छ । गएको आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवर्द्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी विद्युत् महसुलमा छुट दिने निर्णय गरेको थियो ।

नेपालमा एक महिनामा एक सय ५० युनिटसम्म विद्युत् खपत गर्नेको सङ्ख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले एक सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् ।

लकडाउनका कारण विद्युत् खपतमा भारी गिरावट आएको छ । विद्युत् बढी खपत हुने उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालयहरु बन्द भएकाले त्यस्तो अवस्था आएको हो ।