व्यावसायीक घराना गोल्यानले उपत्यकाका ८ स्थानमा माटो ब्राण्डका अर्गानिक तरकारी पुर्याउने

0
Shares

व्यावसायीक घराना गोल्यान समूहले सरकारले गरेको साताव्यापी लकडाउनमा उपभोक्ताको सुविधाका लागि उपत्यकाको ८ स्थानमा माटो ब्राण्डका अर्गानिक फलफूल र तरकारी उपलव्ध गराउने भएको छ।

कम्पनीले ‘माटो ब्राण्ड’ को भ्यानले अब काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य चोक) का विभिन्न ८ स्थानमा बिहान साढे ८ बजेदेखि बुलुका सवा ६ बजेसम्म उक्त सेवा उपलब्ध गराउने बताइएको छ। भ्यानबाट सर्वसाधारणले सहजरुपमा अर्गानिक तरकारी तथा फलफूल खरिद गर्न सक्नेछन् ।

माटो ब्राण्डको उक्त भ्यानले तरकारी र फलफूल सहित बिहान साढे ८ देखि एक घण्टा ललितपुर झम्सिखेलमा, पौन १० देखि पौने ११ बजेसम्म कृष्णमन्दिर लगनखेलमा, ११ बजेदेखि १२ बजेसम्म वीस्टार रेजिडेन्सि बालकुमारी ललितपुरमा सेवा दिने भएको हो।

यसैगरि केएमसि मेडिकल कलेज काठमाडौंको सिनामंगलमा सबा १२ देखि सबा १ बजेसम्म, ज्ञानेश्वरको मुख्य चोकमा साढे १ देखि साढे २ बजेसम्म, भाटभटेनी मन्दिर नक्सालमा पौने ३ देखि पौने ४ बजेसम्म र काठमाण्डौं सोल्टीमोडमा साँझ सबा ५ देखि सबा ६ बजेसम्म उपलब्ध हुनेछ।

त्यस्तै कम्पनीले भक्तपुरको चुनदेवीमा पनि ४ बजेदेखि बेलुका ५ बजेसम्म माटो ब्राण्डको भ्यानले ग्राहकहरुका लागि अर्गानिक तरकारी र फलफूल उपलव्ध गराउने जनाएको छ । माटो ब्राण्डमा आलु, प्याज, गोलभेडा, कागती, कांक्रो, फर्सी, मूला, गाँजर, काउली, सीमी, बन्दा, कोसा केराउ, लौका, तथा सागपातमा रायो, चंसूर, पालुङ्गो, धनियाँ लगायतका सब्जी उपलब्धगराउँदै आएको छ। यस्तै कम्पनीले स्याउ, सुन्तला लगायतको फलफुल समेत बिक्री वितरण गर्दै आएको छ।

हरेक नेपालीको भान्सामा अर्गानिक तरकारी र फलफूल पुर्याउने उद्देश्यले गोल्यान समूहले झापाबाट सुरु गरेको ‘माटो ब्राण्ड’ को अर्गानिक उत्पादनलाई केही समयअघिदेखि ललितपुर झम्सिखेलमा आफनै आउटलेट खोलेर सेवा दिन थालेको थियो। सो अघि ठूला स्टोरहरु भाटभटेनी, सेल्सबेरिज, बिग मार्ट मार्फत काठमाण्डौंमा सेवा दिँदै आएको थियो।

सामाजिक उत्तर दायित्व अन्तर्गत झापाका किसानलाई सहयोग गरी उत्पादन थालेको गोल्यान समूहको अर्गानिक खेती व्यवसायिक रुपमा अगाडि बढाएको छ। उसले झापामा स्ट्रबेरीको उत्पादन थालिसकेको छ भने एभोकाडो, मेवा, कागती, ड्रागन फूड, खुर्सानी, तरवुज, आँप, मोरिंगालगायत बजारमा ल्याउने तयारी छ।