पोखरामा थालियो पिपिइ वितरण

0
Shares

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ ।

गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ १७ वटा पिपिइ वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए।

कोरोना सङ्क्रमणको उपचारका लागि पोखराबाट दुई र काठमाडौँबाट १५ वटा पिपिइ ल्याइएको जानकारी दिँदै उनले नाउँडाडास्थित स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पताल लुम्लेलाई एक/एक वटा पिपिइ वितरण गरिएको बताए। आज सबै पिपिइ वितरण गरिसक्ने बताउँदै अध्यक्ष कुँवरले कोरोना सङ्क्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गरिने जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा हालै विदेशबाट आएका २६ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको गाउँपालिकामा राम्रै पालना भइरहेको उनले बताए। गाउँपालिकाको वडा नं १ स्थित हिमालय देउराली होटेल, २ स्थित माछापुच्छ्रे मावि, ३ स्थित लुम्ले कृषि केन्द्र, ४ स्थित प्रगतिशील मावि, ६ स्थित सङ्गम मावि, ८ स्थित बीरेठाँटी मावि र १० स्थित मेश्रम बराह माविमा क्वारेन्टाइन स्थापना गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  १० : ०२ बजे