लकडाउन अवज्ञा गर्ने ३७० सवारीसाधन सोमबार बिहानै प्रहरी नियन्त्रणमा

लकडाउन अवज्ञा गर्ने ३७० सवारीसाधन सोमबार बिहानै प्रहरी नियन्त्रणमा

कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३७० सवारीसाधनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे ३५३ वटा र १७ वटा चारपाङ्ग्रे सवारी साधन रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत २४ गते बिहान १० बजेसम्ममा उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गते मंगलबारदेखि यही चैत २५ गते राती १२ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कनेहरुको सवारी प्रहरीले नियन्त्रणमा लिँदै आएको छ।

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार १० : २९ बजे