कर विवरण तथा कर बुझाउने म्याद थप, यस्तो छ तालिका

0
Shares

आन्तरिक राजश्व विभागले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको असहज परिस्थितिका कारण करदाताहरुले अवाद्यिक रुपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुत्तानी गर्नुपर्ने कर दाखिला म्याद मन्त्रीपरिषदले चैत १६ गते गरेको नीतिगत निर्णय तथा चैत १८ गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम गरिएको विभागले जनाएको छ।

कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणका कारण देशका अधिकांश क्षेत्र ठप्प बनेको र लामो समयको लकडाउनले मानिस घरभित्रै बन्दी बनिरहेको अवस्थामा करदातालाई राहात दिन विभागले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको हो ।

विभागका अनुसार अब मूल्य अभिवृद्धि कर अन्तर्गत फागुन महिनाको मासिक कर विवरण, माघ र फागुनको दिमासिक र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ बैशाख २५ गते कायम भएको छ ।

यसैगरी, मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि निवेदन दिन पाउने अवधि लकडाउनकै बखत समाप्त भएमा २०७७ बैशाखसम्म कायम गरिएको छ । अन्तशुल्क अन्तर्गत २०७६ फागुन महिनाको बुझाउनुपर्ने विवरण र ती विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद समेत बैशाख २५ गतेसम्म नै कायम गरिएको छ ।

आयकर ऐन बमोजिम २०७६ फागुन महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असूलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद पनि बैशाख २५ गतेसम्म नै कायम गरिएको छ ।

आयकर ऐन अन्तर्गत चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संसोधित अनुमानित कर विवरण र दोश्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद पनि बैशाख मसान्तसम्म नै कायम गरिएको सूचनामा उल्लेख छ ।

यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूर संचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत बैशाख २५ गतेसम्म नै कायम गरिएको आन्तरिक राजश्व विभागले प्रष्ट्याएको छ ।