व्यावसायिक वातावरणको समुचित सम्बोधन गर्न राष्ट्र बैंक तयार: नवनियुक्त गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको बताएका छन्।

मंगलबार सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदबहालीको क्रममा उनले सो बताएका हुन्।

पदबहालीपछि गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले केन्द्रीय बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने धारणा उनले सो अवसरमा राखेका थिए।

नेपाल सरकार (मन्त्रिपरिषद्) को चैत २४ गते सोमबारको निर्णय अनुसार अधिकारी बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका थिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरेका छन्।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिए। त्यस्तै डेपुटी गभर्नर शिबराज श्रेष्ठले पनि शुभकामना दिँदै सरकारले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको उल्लेख गरे।

अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नर हुन्। पूर्वी पहाडको खोटाङमा जन्मिएका अधिकारी वि.सं. २०४२ मा राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए। उनी बैंकको उप–निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारीमा रहेका थिए। गभर्नरमा नियुक्त हुनुपूर्व उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।

उनले सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका छन्।