राहत सामग्रीमा घोटाला गरेको आरोपमा एक पक्राउ

0
Shares

राहत सामग्रीको खरिदमा घोटाला गरेको आरोपमा धनुषामा एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार महेन्द्रनगरस्थित अमृता जेनरल सप्लायर्सका सञ्चालक वीरेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।

राहत सामग्रीको तौलमा घटाएर बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकका अनुसार महेन्द्रनगरस्थित अमृता जेनरल सप्लायर्सले विभिन्न नगरपालिकाका लागि खाद्यान्न आपूर्ति गर्ने क्रममा तोकिएको तौलमा घटाएर सामान प्याकिङ गरी आपूर्ति गर्दै आएको थियो।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीको प्रभावलाई नियन्त्रण गर्न सरकारले विगत दुई सातादेखि जारी राखेको लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर, विपन्न, गरिब र दलित समुदायका लागि स्थानीय तहहरुले राहत स्वरुप उपलब्ध गराउने खाद्यान्न आपूर्तिको जिम्मेवारी लिएका साहले कम तौलका सामान दिएको उजुरीका आधारमा प्रहरीले आज पसलमा छापा मारेर उहाँलाई पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका लागि १ हजार ५ सय पोका राहत प्याकिङ गर्ने जिम्मा पाएका अमृता सप्लयार्सका सञ्चालक साहले कम तौलका खाद्यान्न बिक्री गरेर कालोबजारी गरेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उहाँलाई पक्राउ गरेको हो ।

राहतमा नगरपालिकाले १० किलो चामल, दुई किलो आलु, एक किलो नुन, एक किलो दाल, आधा किलो तेलको राहत प्याकेजको अर्डर पाएको अमृता सप्लायर्सले सबैमा सामानमा तौल कम गरेको थियो । न

गरपालिकाका प्रमुख रामबाबु यादवले चैत २५ गते नै फोन गरी सञ्चालक साहलाई राहत सामग्रीमा कम तौल भएको जानकारी गराउनुभएको थियो । त्यसपछि पुनः गरिएको प्याकिङ्मा समेत राहत सामग्रीकोे तौल कम पाएपछि प्रहरीले सञ्चालक साहलाई गिरफ्तार गरेको हो । नगरपालिकाले एक हजार ५ सय पोका अर्डर दिएकोमा नौ सय पोका वितरण गरिसकेको छ ।

प्रहरी निरीक्षक नायकका अनुसार प्याकिङ गरिएको सबै पोकामा ३ सयदेखि ४ सय ग्राम कम चामल पाएको थियो । पक्राउ परेका साह क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष समेत छन् । साहमाथि नेपाल गुणस्तर तथा नापतौल विभागसँग समन्वय गरेर मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक नायकले बताए।

प्रकाशित मिति: २६ चैत २०७६, बुधबार  १७ : ५० बजे