लमजुङमा थर्मल गन अभाव, पर्याप्त सामग्री विना नै स्वास्थ्यकर्मीले काम गर्न बाध्य

0
Shares

मानिसको शरीरको तापक्रम पत्ता लगाउन पछिल्लो समय नछोइकन तापक्रम नाप्ने ‘थर्मल गन’ को प्रयोग बढ्दो मात्रामा छ । तर महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा भने छैन ।

मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका छन् ।

यसबाहेक एन ९५ मास्क, पिपिईसमेत पर्याप्त नभएको स्वास्थ्यकर्मीको गुनासो छ । मस्र्याङ्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले भने, “यस संक्रमणको बेला हामीले थर्मल गन खोज्दा पनि पाउन सकेनौँ । सबैभन्दा महत्वपूर्णमध्येको एक थर्मल गन पनि हो, योविना बिरामीको ज्वरो थर्मामिटरबाट नाप्नुपर्दा स्वास्थ्यकर्मी डराउनाका साथै संक्रमणको उच्च जोखिमसमेत छ ।”

यस्तै ह्याण्ड स्यानिटाइजरसमेत अभाव भएकाले बिहीबार ५० थान ल्याइएको र सो पर्याप्त नभएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए।
सरकारसँग पटकपटक पर्याप्त स्वास्थ्य सामग्रीको माग गर्दा पनि हालसम्म स्थानीय तहले पर्याप्त प्राप्त गर्न नसकेको जनप्रतिनिधिको दुखेसो छ ।

हालसम्म जिल्लामा रहेका आठ स्थानीय तहमध्ये ती स्थानीय तहबाहेकमा २१ थर्मल गन छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा गरी २९३ थान पिपिई छन् । जिल्लाभरि ४६५ मात्र ह्याण्ड स्यानिटाइजर छ ।

त्यस्तै भिटिएम २० वटा बेँसीशहर नगरपालिकामा रहेको जिल्ला सामुदायिक अस्पताल, क्विक रेस्पोन्स टिमका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  १४ : १३ बजे