गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण, मासु पसल खोल्न समय तोकियो

0
Shares

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आइतबार बसेको नगरस्तरीय कृषि सञ्जालको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैंयाँ तोकेको नगर प्रमुख एवं सञ्जाल संयोजक वासुदेव घिमिरेले जानकारी दिए। बैठकमा कृषिविज्ञ एवं अगुवा किसानहरू सहभागी थिए।

किसानबाट लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको हो। तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिनेछ। समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने नगरपालिकाको विश्वास छ।

तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय ३६ मेट्रिक टन गहुँको बिउ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो।

जनप्रतिनिधि आएदेखि नै यहाँका किसानले अनुदानमा गहुँको बिउ प्राप्त गर्दै आएका छन्। अनुदानमा उन्नत बिउको उपलब्धतासँगै किसानहरूले बाँझो राख्ने खेतमा समेत पछिल्लो वर्ष गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ।

यो वर्ष नगरपालिकाभरि २ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको र ६ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ। यतिबेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती स्याहारिसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान गहुँ भित्र्याउने क्रममा छन्। नगरपालिका आफैले समेत निर्माणको क्रममा रहेको प्रमुख प्रशासनिक कार्यालय परिसरको झण्डै तीन बिगाहामा गहुँ खेती गरेको छ। नगरपालिकाले वडा नं। १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ भने वडा नं। ११, १२, १३, १४,१६ मा समेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ।

मासु पसल खोल्न समय निर्धारण

कृषि सञ्जालको बैठकले लकडाउनको समयमा किसानले भोग्नुपरेका समस्याको समाधानका लागि विभिन्न निर्णय समेत गरेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए। उनका अनुसार किसानको समस्यालाई मध्यनजर गर्दै लकडाउनको समयमा बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेसम्म मासु पसल खोल्ने निर्णय कृषि सञ्जालको बैठकले गरेको छ।

यसअघि सोही समयमा दूधको खरिद(बिक्रीका लागि नगरपालिकाले समय तोकेको थियो। अत्यावश्यक सामान एवं तरकारीको खरिद–बिक्रीको लागि दिउँसो १२ देखि २ बजेको समय तोकिएको छ।

प्रकाशित मिति: ३० चैत २०७६, आइतबार  १७ : २० बजे