अर्घाखाँची सिमेन्टद्धारा प्रदेश ५ सरकारलाई ५१ लाख सहयोग प्रदान

0
Shares

अर्घाखाँची सिमेन्ट प्रालीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेको छ । कम्पनीका संचालक राजेश अग्रवालले आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नगद चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश ५ सरकारले सो कोष खडा गरेको थियो ।

“समुदायको हितप्रति सँधै सचेत यस कम्पनीले कोरोना भाइरसको विश्व महामारीको आजको समयमा नेपाल सरकारद्धारा नागरिकको जिवनरक्षाका लागि थालिएको अभियानमा स्वयंको दायित्वबोध गरी सहयोग प्रदान गरेको हो,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

उनका अनुसार यसका अलावा कम्पनीको सिमेन्ट कारखना रहेको रुपन्देहीको सियारी गाउँपालीकाद्धारा जनताका लागि राहतको ब्यवस्थापन गर्नका लागि संचालित कार्यक्रमका लागि कम्पनीले दुई लाख रुपैँया बराबरको आर्थिक सहयोग पनि प्रदान गरेको छ ।

कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालीकाद्धारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागि खर्च हुनेछ ।

यसका साथसाथै, अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका – तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीकाका बिपन्न बर्गका घरपरिवारका लागि कम्पनीले भोली र पर्सी गाउँपालीकाको समन्वयमा करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ ।

महाप्रबन्धक कार्कीका अनुसार परिवार सदस्य संख्याका आधारमा प्रतिघरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, आधा केजी तेल र १ थान हातधुने साबुन प्रदान गरिनेछ ।

उनका अनुसार चुनढुंगा खानी रहेको दुई गाउँपालीकाको कार्यालयले निम्नबर्ग भनेर पहिचान र सिफारिस गरेको सबै घरधुरीलाई सो राहत सामाग्री प्रदान गरिनेछ ।