कोरोना संक्रमितको संख्या १६ पुग्यो, सनसिटीका तीनमध्ये २ मा पुष्टि

0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने तीन नेपालीमध्ये २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै संख्या बढेको हो।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको र एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दियो।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । र्‍यापिड टेस्टमा तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो।

चैत ५ गते बेलायतबाट नेपाल फर्किएका यी नेपाली सनसिटीको ‘ए’ ब्लकको १५०१ नम्बर फ्लाटमा बसोबास गर्थे। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। सोमबार मात्रै कैलाली र रौटहटमा एक/एक जनामा कोरोना संक्रमण फेला परेको थियो।

१६ मध्य एकजना निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  १२ : २३ बजे