काभ्रे र धादिङ्गमा भएको प्रारम्भिक परिक्षणमा तीन युवामा देखियो कोरोना पोजेटिभ

0
Shares

मंगलबार काभ्रेमा दुई र धादिङ्गमा १ जनामा र्यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी) गर्र्दा तीन जनामा कोभिड १९ को नतिजा पोजेटिभ आएको छ। संक्रमित तीनै जना विदेशबाट फकिएका व्यक्ति हुन्।

काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका एक/एक जना तथा धादिङको ज्वालामुखी गाउँपालिका स्थित मैदी स्वास्थ्य चौकीमा गरिएको आरडिटी परीक्षणमा एक जना युवामा कोभिड १९ पोजिटिभ देखिएको हो। यससँगै धुलिखेल अस्पतालमा रियल टाइम पाेलिमरेज चेन्ज रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्न दुवैको स्वाब थप परीक्षणका लागि पठाइएको छ भने धादिङ्गको युवालाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

संक्रमित बेथाञ्चोक वडा नम्बर ५ का २८ वर्षीय युवा ९ चेतमा भारतबाट, मण्डनदेउपुर वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवा ७ चैतमा दुबईबाट र धादिङ्गका युवा दक्षिण कोरियाबाट फागुन २० गते घर फर्किएका थिए।

काभ्रेमा विदेशबाट फर्किएका २५१ जनामध्ये १९१ को परिक्षण भइसकेको छ। उता भारत र तेस्रो मुलुकबाट फर्किएका सबैको परिक्षण गर्ने क्रममा रहेको धादिङ्गको ज्वालामुखी गाउँपालिकामा मंगलबार ३५ जनाको आरडिटी परीक्षण गरिएको बताइएको छ।

 

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  १८ : ३९ बजे