आरएमसी फुड्सलाई उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान

notebazar_admin
0
Shares
आरएमसी फुड्सलाई उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान

काठमाडौँ। आरएमसी फुड्स प्रालि ले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी मूल्यको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्राप्त गरेको छ।

गत मंसिर ७ गते राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा आयोजित विशेष समारोहमा कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो। ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित समारोहमा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।

त्यसैगरी, मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा कम्पनीलाई ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्रदान गरिएको हो। ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आयोजित समारोहमा भन्सार विभागको सिफारिसका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको थियो। समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सम्मानपत्र प्रदान गरेका थिए भने मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्सले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल, विशेषगरी ‘न्यूट्रिप्लस’ ब्रान्डका उत्पादनलगायत विभिन्न गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्षसमेत रहेका कम्पनीका प्रतिनिधि राजेशकुमार अग्रवालले नेपाल सरकारबाट प्राप्त सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको बताए।

उनले मुलुकको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता निरन्तर रहने पनि बताए।

दुई महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेसँगै आरएमसी फुड्सले स्वदेशी उत्पादन, कर योगदान तथा निर्यात प्रवर्द्धनका क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहीबार १० : २० बजे