टेलिकमको कोरोना सर्वेक्षण- *१४१९# मा डायल गरि जानकारी दिनुस्

0
Shares

नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी (Covid-19 Crisis Management Centre – CCMC) सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमश: प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएस  (SMS)  मार्फत जानकारी गराउने छ ।

एसएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले USSD मार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् ।

सो सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हो’ वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ ।

उक्त सर्वेक्षणबाट प्राप्त तथ्यांक सीसीएमसीलाई सिधै प्राप्त हुनेगरी कम्पनीले आवश्यक व्यवस्था समेत गरेको छ । यसरी सर्वेक्षणबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट सीसीएमसीले कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पु¥याउन सक्ने विश्वास गरिएको छ ।

यसैगरी हाल मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अत्यावश्यक सेवा तथा वस्तु परिचालन गर्न तथा आवतजावत गर्नको लागि नेपाल सरकार, गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पास (E-pass) सम्बन्धी जानकारी उपलब्ध गराउनको लागि नेपाल टेलिकमले SMS Short Code सेवा उपलब्ध गराएको छ ।

नेपाल सरकार, गृह मन्त्रालयको ई–पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.np मार्फत आवेदन प्राप्त भएपछि ई–पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकहरुलाई Short Code “1112” मार्फत पठाउन सकिनेछ । उक्त कोड ई–पास उपलब्ध गराउने प्रयोजनका लागि सञ्चालन गरिएको हो ।

लकडाउन अवधिभरको लागि उक्त Short Code मार्फत पठाइने SMS कम्पनीले निस्शुल्क गरेको छ भने सो Short Code सञ्चालनको लागि नेपाल टेलिकमले SMPP Account तथा VPN Connection समेत निस्शुल्क उपलब्ध गराएको छ ।

साथै कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.np प्रयोग गर्दा खपत हुने मोबाइल डाटा समेत लकडाउन अवधिभरको लागि कम्पनीले निस्शुल्क गरेको छ ।