बेलायतको कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत कमी आउने


सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मङ्गलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ ।
“सन् २०२० मा वार्षिक

कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशतको गिरावट दुवै विश्वयुद्धको अन्त्यपछिको आर्थिक गिरावट भन्दा सहजै जटिल (सङ्कटग्रस्त) हुने देखिएको छ,” ओबीआरको रिपोर्टमा उल्लेख छ ।

यो प्रक्षेपणमा दोस्रो त्रैमासिकमा बेलायतको कूल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशतसम्म रास आउने बताइएको छ तर कोरोनाभाइरसको सङ्क्रमणको अवस्था नियन्त्रणमा आउँदा साथै अर्थतन्त्रमा विस्तारै सुधार आउने उल्लेख छ ।

दोस्रो त्रैमासिकमा बेलायतको बेरोजगारी पनि २० लाखभन्दा बढ्ने र १० प्रतिशत पुग्ने ओबीआरले जनाएको छ ।
सरकारले व्यवसाय र काम नहुनेलाई सहयोग पु¥याउन ठूलो सार्वजनिक खर्चको उपाय घोषणा गरिसकेको छ, जसले यसपहिले गरिएको पूर्वानुमानभन्दा ऋणमा ठूलो वृद्धि हुनेछ ।

यस परिदृश्यले सन् २०२० मा कुल दुई खर्ब १८ अर्ब अमेरिकी डलर अर्थात् बेलायतको कूल ग्राहस्थ उत्पादनको १४ प्रतिशत उधारो खर्च हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो एकल घाटा हो ।

यस अध्ययन प्रतिवेदनको नमूनाअनुसार सार्वजनिक क्षेत्रको खुद घाटा १०० प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ भने वर्षको अन्त्यसम्ममा यो घाटा ९५ प्रतिशतमा सिमित हुनेछ ।

वर्तमान् परिदृश्यलाई हेर्दा ‘अर्थव्यवस्थाको लागि सम्भावित बाटोबारे अहिल्यै कुनै दृष्टिकोण बनाइहाल्नु नहुने’ ओबीआरले चेतावनी दिएको छ । कोरोनाभाइरसका सङ्क्रमणको अवधि जति लम्बियो यसको प्रभाव अर्थतन्त्रमा वा यसका सूचकाङ्कमा त्यति नै नकारात्मक हुनेछन् ।