कोरोना उपचार कोषमा आइक्यानको एक करोड सहयोग

0
Shares

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ ।

आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईमार्फत सरकारलाई हस्तान्तरण गरिएको हो । आइक्यान परिषद्को गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा उक्त सहयोग गर्ने निर्णय गरेको थियो ।

परिषद बैठकले चालु आव र आगामी आवको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्च कटौती गर्नेसमेत निर्णय गरेको छ ।

कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । “यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई केही राहत पु¥याउने हाम्रो विश्वास छ”, आचार्यले भने ।

यसैबीच आइक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकाले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले जानकारी दिए । लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।

यस्तै, आइक्यानले ‘अनलाइन लर्निङ प्लेटफर्म’ तयार गरी भर्चुअल टे«निङका साथै विद्यार्थीका लागि ‘भर्चुअल’ कक्षा व्यवस्थापन भएको छ । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा सञ्चालन गर्नसक्ने गरी व्यवस्थापन गर्न लागिएको आइक्यानको तयारी छ ।