लकडाउन उल्लघङ्न गर्ने दुई हजार ४०० लाई कारवाही

0
Shares

काठमाडौँ उपत्यकामा लकडाउन उल्लघङ्न गर्ने दुई हजार ४२७ लाई मंगलबार कारवाही गरिएको छ । मंगलबार दिनभर उपत्यकाको विभिन्न क्षेत्रमा लकडाउन उल्लङ्घन गरेका ५५९ महिलासहित उनीहरुलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

सोही क्रममा ३२० दुई पाङ्ग्रे र ५० वटा चार पाङ्ग्रे सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी दुई हजार १९ लाई नियन्त्रणमा लिइएको छ । यसैगरी ललितपुरबाट ३९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी लकडाउनको आदेश जारी गरेको थियो । आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

सबैको सुरक्षाका लागि सरकारले लकडाउनको निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ । सरकारले लकडाउनको अवधि आगामी वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय समेत गरेको छ । नेपालमा अहिलेसम्म कोभिड १९ बाट १६ जना सङ्क्रमित भएका छन् । यस्तै ५ हजार ५५८ जना क्वारेन्टाइनमा राखिएको छ भने ९९ जना आइसोलेसन बाडमा रहेका छन्।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  ०७ : ३८ बजे