सनसिटीमा रहेका २९८ जनामा कोरोना सङ्क्रमण देखिएन

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोभिड–१९ को सङ्क्रमण नभेटिएको जनाएको छ ।

आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुईजनामा मङ्गलबार सङ्क्रमण देखिएपछि त्यहाँ अन्यलाई परीक्षण गर्दा सङ्क्रमण नभेटिएको जानकारी दिए।

बेलायतबाट आई अपार्टमेन्टमा बसेका दुईजनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ देखिएका एकजनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षण गर्दा सङ्क्रमण नदेखिएको स्पष्ट पारे।

प्रवक्ता डा. देवकोटाले आरडिटी विधिबाट १४ जिल्लाबाहेक सबैमा शुरु गरिएको बताए। उनका अनुसार प्रदेश नं १ मा सात, २ मा तीन, गण्डकी प्रदेशमा एक, ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्ला बाहेक सबैमा आरडिटी विधिबाट परीक्षण शुरु गरिएको छ। अहिलेसम्म १५ हजार आठ सयजनामा दुवै विधिबाट नमूना परीक्षण गरिएको बताए।

यसैगरी पाँच हजार ६१४ क्वारेन्टाइन र ११७ जना आइसोलेशनमा रहेका छन्। मोबाइल एपबाट स्वयं मूल्याङ्कन गर्दा १३ जना रेड जोनमा परेको उनको भनाइ रहेको छ।

  • १५ वटा समूह बनाएर सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले १५ वटा समूह बनाएर सङ्क्रमितको नजीक रहेकाको परीक्षण गरिरहेको बताए। सोही समूहले नै सङ्क्रमित व्यक्तिका नजीक रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ नाम, ठेगाना, यात्राको विवरण लिने उनले बताए। “समूहबाट नै सङ्क्रमित रहेका नजीकका आफन्त, नातेदार र साथीभाइको कन्ट्रयाक ट्रेसिङ गरिरहेका छौं”, उनले भने, “नजीक रहेकाको स्वाब लिने र अलि टाढा रहेकाको रगतबाट परीक्षण गरेका छौं।”

उनका अनुसार बाहिरबाट आएका मानिसको प्लेन चढेको ठाउँको दुई सिटसम्म अगाडि र पछाडि रहेका व्यक्तिमा पनि ट्रेसिङ गरेर परीक्षण गरिएको छ। उनले पिसिआरले १४ दिनभित्र सङ्क्रमणको भए/नभएको पत्ता लगाउने र त्यसपछिको अवधिको परीक्षण आरडिटीले गरिने जानकारी दिए।

उनले १४ दिनपछि आरडिटीबाट गरिएको परीक्षणमा पोजेटिभ देखिए अन्यलाई सर्ने सम्भावना कम रहने बताए। प्रधानले राष्ट्रिय विपत्तिका समयमा नेपाल सरकारलाई सहयोग गर्ने कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै सहयोग गरिएको बताए।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  १८ : ४५ बजे