लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु

0
Shares

 

कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाएर करिब दुई सातापछि जलविद्युत् आयोजना निर्माणलाई अघि बढाइएको हो ।

निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । “मजदुर र सामग्री भएका आयोजनालाई सञ्चालन गराएका छौँ”, उनले भने, “निर्माण सामग्री र कच्चा पदार्थ आयातका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरेका छौँ ।” उनका अनुसार ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । दुई सय २० केभी क्षमताको दाना सवस्टेशन र प्रसारण लाइन आयोजनाले पनि रोकिएको कामलाई निरन्तरता दिन लागेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सवस्टेशन र प्रसारण लाइन वैशाख महिनाभित्र चार्ज गर्ने तयारी छ । स्थानीय सरोकारवाला र समुदायको सहमतिमा आयोजनाको काम सञ्चालन गरिएको प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिए ।भारतीय ठेकेदार कम्पनी जयप्रकाश (जेपी) एशोसिएट्सका ५०० मजदुर आयोजनामा परिचालित छन् । चैत ११ देखि करिब तीन हप्तासम्म आयोजनाको काम रोकिएको थियो । काम नहुँदा मजदुर क्याम्पमा बसेका थिए ।

“मजदुर, उपकरण र निर्माण सामग्री भएकाले समुदायमा असर नपुग्ने गरेर सुरक्षा सतर्कता अपनाएर काम अघि बढाएका हौँ”, रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले भने, “प्रशासन, सुरक्षा निकाय, गाउँपालिका, ठेकेदार र समुदायसँग समन्वय गरेका छौँ ।” अन्नपूर्ण गाउँपालिकाको नारच्याङ स्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ ।

मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । धवलागिरि गाउँपालिकामा ५० मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ । मजदुर, प्राविधिक र कर्मचारी घर गएकाले निलगिरिखोला जलविद्युत्को काम भने रोकिएको छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्रीखोलाको बाँध, टनेल, पेनस्टक परीक्षण र पावरहाउसमा उपकरण जडान भइरहेको छ । बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम भने रोकिएका निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए । सडक, सिँचाइ, नदी नियन्त्रण र भवनका योजनामा काम गर्ने धेरै मजदुर घर गएका छन् ।