पिसिआरमा नेगेटिभ आएपछि काभ्रेलीमा राहत, चितवनको नतिजा पनि नेगेटिभ

0
Shares

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरसको सङ्क्रमण देखिएका काभ्रेका दुई युवाको थप परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको धुलिखेल अस्पतालमा बुधबार पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको हो।

दुवै युवा विदेशबाट घर फर्किएका हुन् । मङ्गलबार सङ्क्रमण देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि सोही दिनदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए। उनले भने “आज उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ।”

बेथानचोक गाउँपालिका–५ का २८ वर्षका युवा गत चैत ९ गते घर फर्किएका थिए। गत चैत ७ गते दुबईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा २२ दिन बसेर घर फर्किएका हुन् ।

उनीहरुलाई स्थानीय तहमै गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा कारोना सङ्क्रमण देखिएको थियो । काभ्रेमा आइतबारदेखि विदेशबाट फर्किएकाहरुको आरडिटी थालिएको थियो ।

हालसम्म २६३ जनाको आरडिटी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको डा झाले जानकारी दिए। कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि विदेशबाट काभ्रेस्थित घर फर्किएर होम क्वारेन्टाइनमा राखिएका सबैको आरडिटी गर्न थालिएको हो।

कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ। यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएकालाई सम्पर्कमा ल्याइएको हो। बागमती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले गतहप्ता आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो । काभ्रेमा ६ नपा र ७ गाउँपालिका छन्।

  • चितवनका आशङ्का गरिएकाको नतिजा नेगेटिभ

र्‍यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी) का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ। भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जनाकारी दिए।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो। सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो।

यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ।

उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १६ : ०२ बजे