लकडाउनका कारण चार कम्पनीको आईपीओ निष्काशन प्रभावित

0
Shares

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण चार कम्पनीका एक अर्ब २९ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रभावित भएको छ। यस्तै दर्जन हाराहारीको संख्यामा साधारण सभा स्थगित छन् भने केही कम्पनीको हकप्रद शेयरको बिक्री पनि प्रभावित बनेको छ।

नेपाल धितोपत्र बोर्डबाट शेयर जारी गर्न अनुमति पाएपनि एनआईसी एशिया लघुवित्त, युनाईटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन प्रभावित बनेको हो।  यी सबै कम्पनीहरुले हालसम्म आईपीओ जारी गरिसक्ने तयारीमा रहेका थिए। कम्पनीहरुले फागुन तथा चैत पहिलो साता धितोपत्र बोर्डबाट शेयर जारी गर्न अनुमति पाएका थिए।

युनाईटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि, एनआईसी एशिया लघुवित्त, र एनआरएन इन्फ्रास्ट्रचरले सर्वसाधारणका लागि र लिबर्टी इनर्जी कम्पनीले स्थानीय र सर्वसाधारण दुबैका लागि शेयर जारी गर्न लागेका थिए।

ग्लोबल आइएमई क्यापिटल मार्फत चैत १० गतेदेखि स्थानीयमा ४ लाख २० हजार लाख कित्ता शेयर जारी गर्न आह्वानपत्र निष्काशन गरेको युनाइटेड इदिमर्दी लकडाउनकै कारण आईपीओ निष्काशन स्थगन गरेको अवस्था छ।

एनआइसी एसिया लघुवित्त र एनआरएन इन्फ्रास्ट्रचरको आइपीओ शेयर बिक्री गर्न बिक्री प्रबन्धकको जिम्मेवारी पाएको सानिमा क्यापिटल पनि दुबै कम्पनीको शेयर जारी कार्य स्थगन भएको जनाएको छ। एनआइसी एसिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता र एनआरएन इन्फ्रास्ट्रचरले ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ सर्वसाधारणमा बिक्री गर्ने तयारीमा रहेका थिए।

यस्तै लिबर्टी इनर्जीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री खुला गरेको १५ लाख कित्ता शेयरको निष्काशन नै प्रभावित बनेको छ। यसले सर्वसाधारणमा जारी हुने शेयरको समयावधि बढेको छ।

गत फागुन २७ गतेदेखि छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन पाउने गरि खुला भएको आईपीओमा आवेदन समय थप भएको वा निष्काशन बन्द भएको कुनैपनि सूचना कम्पनीले जारी गरेको छैन।  यससँगै सर्वसाधारणलाई जारी हुनुपर्ने २२ लाख ५० हजार कित्ताको निष्काशन पनि स्वत पछाडि धकेलिएको छ। नत्र यतिबेला आम लगानीकर्तामा शेयर जारी हुने अवस्था आइसकेको हुन्थ्यो।

कोरोना संक्रमणबाट जोगिन सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुमा रोक लगाएपछि आईपीओ जारीको अन्तिम तयारीमा रहेका कम्पनीले निष्काशन बन्द गर्नुपरेको जनाएका छन् । सँगै शेयर जारी गर्न अनुमति पाएको नेपाल पुर्नबीमा कम्पनील भने आईपीओ जारी गरि लकडाउनका बीच नै बाँडफाँड गरिसकेको छ।