सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई ५०० थान पिपिई हस्तान्तरण

0
Shares

सिप्रदीयन सहायता संस्थाले ५०० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा उक्त प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको बताए। आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न सो प्रालि सदैव तत्पर रहेको उनले उल्लेख गरे।

नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही नेपाल प्रहरीले कार्य गर्दे आइरहेको छ।

सिप्रदीयन सहायता संस्थाले जोखिमको समेत कुनै प्रर्वाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा सक्रिय रहने नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम सुरक्षित राख्न सके मात्र आम नागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने महसुस गरी नेपाल प्रहरीलाई पिपिई हस्तान्तरण गरेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सिप्रदी ट्रेडिङ प्रालिका पदाधिकारीहरुको उपस्थिति थियो ।