गोदावरीका धार्मिक क्षेत्रमा लुकेर बसेका मानिसहरुको खोजी

0
Shares

गोदावरी नगरपालिकाका केही जनप्रतिनिधिले धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका छन् कि भन्ने जानकारी हासिल गर्न गोदावरीका जनप्रतिनिधिले शनिबार अवलोकन गरेका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले मुलुक आक्रान्त बनेको बेला यी केही मन्दिर, मदरसा, चर्च र गुम्बा आदि अवलोकन गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। उनले भने “यी विभिन्न किसिमका धार्मिक क्षेत्रमा कति मानिस छन् र यिनीहरुले वास्तमै सामाजिक दूरी कायम गरेर बसिरहेका छन् या छैनन् भन्ने बुभ्न हामी गएका हौं।” यी धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका नभेटिएको महर्जनले बताए।

अनुगमनमा वडा नं १ गोदामचौरमा रहेको मदरसा (हरमाइन एकेडेमी एन्ड सोसाइटी_, वडा नं ३ मा रहेको ञिङमा जोग्छेन श्रीसिंह गुम्बा, चुम मिलेलाप्राङ बौद्ध शिक्षण तथा ध्यान केन्द्र, इसाएल चर्च, वडा नं १३ को सन्तानेश्वर र वडा नं ११ को प्रसिद्ध बज्रबाराही मन्दिरसमेत अवलोकन गरिएको थियो ।

अवलोकन टोलीले धार्मिक क्षेत्रका मानिसलाई बिना भीडभाड नबस्न सुझाव दिएको छ । अनुगमन टोलीमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडा नं १ का वडाध्यक्ष हरिहर कार्की, वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरे, महानगरीय प्रहरी प्रभाव बाडेगाउँका प्रहरी निरीक्षक अरुणकुमार भट्टराई लगायत केही पत्रकारको उपस्थिति थियो ।

प्रकाशित मिति: ७ वैशाख २०७७, आइतबार  ०७ : ०९ बजे