कोभिड-१९ बाट २३ लाख बढी संक्रमित, मृत्यु हुनेको संख्या १ लाख ६० हजार

0
Shares

कोभिड-१९ को संक्रमणबाट अति प्रभावित युरोपेली मुलुक मध्येको स्पेनमा गत मार्च १४ देखि कडा लकडाउनका बीच बालबालिकाहरु घरभित्रै थुनिएका छन् ।

वयस्कहरुलाई खाद्यान्न, औषधि लगायतका अति आवश्यक कामका लागि घर बाहिर निस्कन दिइन्छ । तर बालबालिकालाई भने कोरोना भाइरसको संक्रमण फैलिने डरले कडा नियमकाबीच घरबाट बाहिर आउन समेत दिइएको छैन ।

स्पेनमा भाइरसको संक्रमण विस्तारै घट्दै आएकाले यहाँका प्रधानमन्त्री पेद्रो स्यान्चेडले आगामी २७ अप्रिलदेखि भने बालबालिकालाई स्वच्छ हावामा बाहिर निस्कने दिने भएका छन् ।

वार्सिलोनाका मेयर अदा कोलुको सरकारसँग बालबालिकालाई वाहिर निस्कन दिन गरेको अनुरोधपछि सरकारले यस्तो निर्णय गरेको हो । आफ्नै बालबच्चा घरमा राख्दा उनीहरुको मनोदशा भोगेकी मेयर अदाले प्रधानमन्त्रीसँग उनीहरुका लागि लकडाउन खुकुलो पार्न विशेष अनुरोध गरेकी हुन् ।

एकोहोरो घरभित्र मात्रै बस्दा बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर गर्ने स्पेनी बालअधिकारकर्मीले बताएका छन् । स्पेनका ८० लाख बालबालिकाले ५ हप्ता घरभित्रै बिताइसकेका छन् । स्पेनमा हालसम्म कोरोना संक्रमणका कारण २० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या पनि २ लाखको हाराहारीमा रहेको छ ।

युरोपकै अन्य मुलुकहरुमा डेनमार्कले ११ वर्ष मुनीका बालबालिकाका लागि विद्यालय खुल्ला गरेको छ । यसैगरी नर्वेले आगामी सोमबारदेखि किन्डरगार्टेन संचालनमा ल्याउने भएको छ । जर्मनीले पनि आगामी मे ४ देखि अधिकांश राज्यमा विद्यालय खुल्ला गर्ने निर्णय गरिसकेको छ ।

स्वीडेनले भने कोरोनाको संक्रमण भरी नै विद्यालय संचालनमा ल्याएको छ । यी कुनै पनि मुलुकहरु स्पेन जति कोरोनाको संक्रमणबाट प्रभावित भएनन् । अमेरिका स्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ५ सय १० पुगेको छ ।

यसैगरी संक्रमितको संख्या पनि २३ लाख १७ हजार ७ सय ५९ पुगेको छ । विश्वमा संयुक्त राज्य अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा संसारकै सबैभन्दा बढी कोरोना संक्रमित र मृत्यु हुनेहरु रहेका छन् । अमेरिकामा हालसम्म ७ लाख ३२ हजारभन्दा बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या पनि झण्डै ३९ हजारको हाराहारीमा पुगेको छ ।

प्रकाशित मिति: ७ वैशाख २०७७, आइतबार  ०९ : ३२ बजे