अमेरिकामा कोरोना भाइरसका कारण १० नेपालीले जीवन गुमाए

0
Shares

अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ।

तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।

यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो। शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे। कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ।

अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले जानकारी दिए।

भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन्।

यसैबीच भण्डारीले नेपाली लगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिएका छन्। कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहेका थिए ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापी रूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल हुनुभएको आँकडा रहेको बताउँछन्।

यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: ७ वैशाख २०७७, आइतबार  १० : ०३ बजे