नियामकको निर्देशनलाई चुनौति दिँदै आइस्पानले भन्यो ” इन्टरनेटको डिजिटल भुक्तानी गर्नुहोस्”

0
Shares

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट सेवा सुचारु राख्न ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न भनेको छ।

इन्टरनेट सेवा प्रदायक सम्पूर्ण कम्पनीहरु डिजिटल भुक्तानी माध्यममा जोडिएको भन्दै उसले घुमाउरो किसिमले ग्राहकहरुलाई शुल्क तिर्न दबाब दिएको हो।

सिधै सेवा नै अबरुद्ध गर्ने नबताएपनि संघले कर्मचारीहरुको मासिक भुक्तानी, संघमाअ आबद्ध कम्पनीले अन्य कम्पनीहरुलाई समयमै भुक्तानी तिरिसक्नुपर्ने बाध्यता, लकडाउनमा खपत अत्यधिक बढेकाले सेवा प्रदायकहरुमा थप आर्थिक भार पर्न गएको भन्दै भुक्तानी गर्न भनिएको छ।

सेवा प्रदायकले इन्टरनेट सेवा अवरुद्ध गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले बैशाख ५ गते लकडाउन अवधिभर निरन्तर इन्टरनेट सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर आइस्पानले त्यसको भोलिपल्टै ग्राहकलाई समयमै डिजिटल भुक्तानी मार्फत इन्टरनेट सेवाको भुक्तानी गरि सेवा सुचारु गर्न भनेको हो

आइस्पानले प्राधिकरणमा पठाएको पत्रमा भनिएको छ ‘हामी सम्पूर्ण सेवा प्रदायकहरु डिजिटल भुक्तानीका माध्यमबाट पहिले देखि नै जोडीसकिएका हुँदा माथि उल्लेखित शारिरिक हिसाबले पूर्णरुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका वृद्ध, घरायसी ग्राहकहरुका हकमा बाहेक अन्य ग्राहकवर्गज्यूहरुलाई डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरि सेवा सुचारु गर्न अनुरोध गर्दछौं,’।