कोरोना संक्रमित चितवनका आफन्‍तको र्‍यापिड टेष्‍ट ‘नेगेटिभ’

0
Shares

३ चैतमा कतार एअरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुईजना कोरोना संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेका आफन्तको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिमार्फत नमूना परीक्षण गरिएको छ।

राप्ती नगरपालिकामा गरिएको परीक्षणमा संक्रमितका आठजना आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिवारीले बताए।

उनीहरुको सम्पर्कमा आएका दुईजना सवारी चालकको पनि भरतपुरमा जाँच गरिएको छ। उनीहरु सबैलाई राप्ती नगरपालिका-८ स्थित ब्रह्मनगर माविको क्वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले बताइन् ।

उनका अनुसार संक्रमित भएका व्यक्तिमा कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको हो।

उनीहरूसँगै सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी नगरपालिकाले गरेको छ । राप्ती नगरपालिका- ८ अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ।

नेपाल आएर दुई दिन काठमाडौंको बसाइसँगै उनीहरू ५ चैतमा चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भएको छ। उनीहरु चढेर आएको माइक्रोबसको ट्राफिक प्रहरीले खोजी गरिरहेको छ।

भरतपुर अस्पतालमा उपचाररत् उनीहरू अहिले भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत् छन्। संक्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। 

प्रकाशित मिति: ७ वैशाख २०७७, आइतबार  १३ : २४ बजे