दक्षिण कोरियामा कोभिड १९ संक्रमण: सरकारी पहल र नेपालले सिक्नुपर्ने पाठ

0
Shares

कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले कोभिड १९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लिन सफल भएको छ। सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापाक रूपमा अवलम्बन गरेपछि यस देश कोरोना भाइरस प्रकोप नियन्त्रणमा ल्याउन सफल बनेको हो।

जनवरीको अन्तिमतिर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएर  फेब्रुअरी अन्तिम र मार्च पहिलो साता डरलाग्दो दरमा बढेको संक्रमणको क्रम त्यस यता भने संङ्क्रमितको सङ्ख्या क्रमश: घट्दै हाल एक अङ्कमा मात्रै वृद्धि भएको अवस्था छ । आइतबार ८ जना मात्र नयाँ संक्रमित थपिएका छन् भने थप २ जनाको मृत्यु भएको छ।

यहाँ फेब्रुअरी २४ मा ८३३ स्रक्रमित रहेकोमा मार्च ६ तारिखमा नै ६ हजार ५९३ पुगेको थियो। मार्च १९ मा ८ हजार ५०० धेरै संक्रमित भई ९१ जनाले ज्यान गुमाएकोमा १९ अप्रिल बिहानसम्म १० हजार ६६१ जनामा संक्रमण फैलिएर २३४ जनाको मृत्यु भएको छ। ८ हजार ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यहाँसम्म आइपुग्दा संक्रमितमध्ये ७५ प्रतिशतलाई निको हुनु र २ प्रतिशत मात्रको मृत्यु हुनुले पनि दक्षिण कोरियाले अपनाएको सावधानीको बारेमा सहजै अनुमान लगाउन सकिन्छ।

सुरुमा फ्रेब्रुअरी १५ मा थेगु शहरबाट देखा परेको कोरोना भाइरसको संक्रमण फेब्रुअरी महिनाको अन्त्यसम्ममा चीनपछि एशियामा धेरै सङ्क्रमित दक्षिण कोरियामा हुन पुगेका थियो। थेगुबाहेक सोल, बुसान, खाउन्दो शहरमा पनि सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्दै गयो। धेरै शहरहरुमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि यहाँ कार्यरत नेपाली नागरिकहरू सुरुका दिनमा आत्तिएपनि सरकारले चालेको कदमले संक्रमण नियन्त्रणमा आउन थालेपछि करिब एक महिना यता भने हाल विस्तारै त्यो भय हराउँदै गएको छ।

यहाँ खास दक्षिणपूर्वी शहर थेगुबाट कोरोनाको सुरुवात देखिएको थियो। त्यहाँ चीनबाट फर्केकी ६१ वर्षीय एक महिलाले आफुलाइ कोरोना नलागोस् भनेर एउटा धार्मिक समूहको सिन्चन्जी चर्चमा प्रार्थाना गर्न गएकी थिइन। सुरुमा कसैलाई पनि चीनबाट फर्केको नबताएकी उनले पछि आफैँलाई शंका लागेर अस्पतालमा गइन् र आफ्नो स्वास्थ्यमात्र जाँच गराइन्।

अस्पतालमा पनि जानकारी नदिइ स्वास्थ्य जाँच गराउँदा अस्पतालकै अन्य दुई जनामा पनि संक्रमण फैलियो भने उनी सहभागि भएको चर्चमा सहभागी करिब एक हजार जनामध्ये एकैपटक लगभग ७०० जनामा सङ्क्रमण फैलिएको थियो। सिन्चन्जी चर्चका सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि त्यहाँका ९ हजार सदस्यलाई आफैँ क्वारन्टीनमा बसाइएको थियो।

कोरोना संक्रमण नियन्त्रणका क्रममा नै कोभिड १९ को प्रकोप फैलिनु अघि नै सङ्क्रमण भएका मानिसको परिचय लुकाएर संक्रमण फैलाएको आरोपमा यहाँको राजधानी सोलको स्थानीय सरकारले सिन्चन्जी चर्चका संस्थापक ली मान ही र अन्य ११ जनाविरुद्ध मुद्दा दायर गर्न समेत निर्देशन दिएको थियो।

कोरियामा चार-पाँच घन्टाको अन्तरमा देशको सबै कुना कुनामा पुग्न सकिने भएकोले पनि सुरुको दिनमा सावधानी नअपनाउँदा संक्रमण देशैभरी फैलन पुग्यो। त्यसैले यस संक्रमणको आशंका लागेको व्यक्ति होम क्वारेन्टाइनमा नबस्ने र सामाजिक दूरी कायम नगरेको खण्डमा भने ‘दिन दुई गुणा रात चौगुणा’ को दरले संक्रमित बढ्ने यहाँको अवस्थाले पनि चित्रित्र गर्दछ।

संक्रमण पुष्टि भएपछि उच्चसतर्कता अपनाइएकोले कोरोना पत्ता लागेपछी त्यो चर्चमा सहभागि भएका र अन्य शङ्कास्पद सबैको कन्याक्ट ट्रेसिङ्गबाट धमाधम परिक्षण सुरु भयो। दक्षिण कोरीयामा रहेका स्वदेशी, विदेशी तथा अवैधानिक रुपमा बसिरहेकाहरुको पनि कुनै कानुनी अवरोध बिना परीक्षण र उपचार गरियो । सो अवसमा कुनैपनी बिरामीको कानूनी अवस्थाको बारेमा खोजबिन नगरिने प्रतिबद्धता ब्यक्त गरिएको थियो।

यस्तै सरकारले कोरोना संक्रमण रोक्नका लागि सूचना प्रविधिको समेत भरपूर प्रयोग गरेको थियो। सूचना प्रविधिको प्रयोगबाट संक्रमितको पछिल्ला गतिविधी तथा भ्रमण गरेका स्थानमा रहेका मानिसहरूमा मोबाइल मार्फत तुरुन्त मेसेज पठाउने र सम्भावित संक्रमण तुरुन्तै पत्ता लगाएर आइसोलेसनमा राख्ने गरेको थियो ।

यहाँका नागरिकले पनि अत्यन्त जिम्मेवार भएर सरकारले गरेको अनुरोधलाई आत्मसाथ गरेर भीडभाड नगर्ने, अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र सभा, सम्मेलन, गोष्ठी जस्ता कार्य नगरेर सघाएका थिए भने सरकारले जनतालाइ अत्यावश्यक सामाग्री धेरैजसो घरमा नै र केही चाहिँ पायक पर्ने स्थानमा उपलब्ध गराउन सहयोग गरेको थियो। जस्तो केहि दिन बजारमा मास्क अभाव हुँदा सकारले सम्पुर्णलाई जन्मवर्षका आधारमा हप्ताको ६ दिन विभाजन गरेर र उक्त दिन खरीद गर्न नसक्नेलाई आइतबार सबैले किन्न सक्नेगरी ब्यबस्था गरेको थियो।

स्वास्थ्य उपमन्त्री किम गाङ लिपले सङ्क्रमण देखिएका शहरमा मानिसहरूलाई समूहमा नहिँड्न, विशेष खालको मास्क अनिवार्य लगाउन, स्वास्थ्यमा समस्या देखिए उपचार गरिहाल्न र सङ्क्रमण भएको शङ्का लागे तुरुन्त जानकारी गराउन आह्वान गर्यो र सरकारले बेलैमा पहलकदमी लिँदा विस्तारै संक्रमणमाथि सरकारले विजय हाँसिल गर्यो।

  • संक्रमणका बीच निरन्तर कार्य सुचारु, कोरोना प्रभावित कम्पनीबाट पनि कामदारलाई ७०% तलब

दक्षिण कोरियामा कोरोना संक्रमण फैलिएको थेगु शहर वरिपरि रहेको केही कम्पनीहरु केहिदिन बन्द भएपनी अन्य समयमा निरन्तर यहाँका कम्पनीहरु सुरक्षाको उपायहरु अपनाएर निरन्तर सञ्चालनमा रहेका छन्।

बाहिरी विश्वमा फैलिएको कोरोना संक्रमणका कारणले देशको आयात निर्यात प्रभावित भएर केही कम्पनी आंशिक रूपमा तथा केही कम्पनी छोटो समयका लागि नचलेपनि पूर्ण रुपमा बन्द भएको अवस्था यहाँ छैन।

हालसम्म कोरोना संक्रमणका कारणबाटै कसैले पनि रोजगारी नै पनि गुमाउन परेको अवस्था छैन। वैदेशिक रोजगारीका लागि यहाँ झन्डै ४६ हजार नेपाली नागरिक यहाँ रहेको बताइन्छ।

कोरोनाको कारणबाटै उद्योग तथा उत्पादनमूलक कम्पनीहरु पुर्णरुपमा प्रभावित भएको छैन। कोरोना संक्रमण देखिएका केही कम्पनीले चाहीँ तलब नदिएपनी नेपाली कामदारहरुलाइ खान बस्न दिएर राखिरहेको छ। यहाँ कार्यरत धेरै नेपाली नागरिकले पूरा तलब नै पाउने अवस्था रहेको छ भने काम नभएका धेरैजसोले कम्पनीले पनि ७० प्रतिशत तलब पाउने अवस्था छ। एउटा कम्पनी छोडेर अर्कोमा काम गर्न खोज्दै गरेका कतिपय कामदारहरुमा भने कोरोनाभाइरस सङ्क्रमणको असर देखा परेको छ।

हालसम्म यहाँ रहेका नेपालीहरु कसैमा पनि कोरोनाको संक्रमण पृष्टि भएको छैन भने कोरोना संक्रमित भएका १० हजार व्यक्तिहरु पनि प्राय सबै कोरियन नागरिकहरु नै छन। सङ्क्रमितहरुमध्ये ७० प्रतिशत जति थेगु शहर रहेको ख्यङ्साङ्फोक्दो प्रान्तका रहेका छन्।

यस्तै मृत्यु हुनेहरुमा पनि एकजना मङ्गोलियाको मुटुरोगी बाहेक सबै कोरियनहरु रहेका छन्। कोरियामा कोरोनाबाट मृत्यु हुनेमध्ये अधिकांश ६० वर्ष माथिका रहेका छन। त्यसमध्ये पनि कुनै न कुनै पुराना दीर्घकालीन रोगको असर भएकाहरू बढी रहेका छन्।

यहाँको एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्न थपेको समयसीमा आइतबार सकिएको छ। थप बढाउने कि नबढाउने भन्ने निर्णय सोलमा आइतबार हुनेछ।

यस बीचमा दक्षिण कोरियाले बुधबार मात्रै सामाजिक दूरी कायम राख्दै सुरक्षाका विभिन्न उपाय अवलम्बन गरी संसदीय निर्वाचन समेत सम्पन्न गरेको छ। कूल ३५ वटा दल सहभागी यहाँको नर्वाचनमा राष्ट्रपति मुन जे- इनको पार्टीले ३०० सीटको संसद्मा राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले १६३ सीट जितेको छ।

यसरी कोरियाले कोरोना संक्रमण फैलिएपछि पनि अवलम्बन गरेको नीतिको कारण निकै प्रशंसा समेत पाएको छ। देशले कोरोना नियन्त्रणका लागि चालेको व्यापक परीक्षण, गिर्जाघर र अन्य भेलामा प्रतिबन्ध, संक्रमण नियन्त्रणमा सूचना प्रविधिको उपयोग, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र दुई मिटरको व्यक्तिगत दूरी कायम गर्नुपर्ने जस्ता उपाय अवलम्बन गरेको थियो।

त्यसैले दक्षिण कोरियाले संकट सुरु हुनुभन्दा पहिला नै कदम चाल्नु, पहिचान, सर्वेक्षणमा र संक्रमितलाइए आइसोलेसन राख्नु, संक्रमण सुरु पश्चात मुलुकभर गरिएको धेरै र सुरक्षित परीक्षण र नागरिक स्तरलाई पाएको ठूलो सहयोगले दक्षिण कोरियाले कोरोना नियन्त्रण गर्न सक्षम भएको हो । ठूलो संख्यामा संक्रमित देखिए पनि अन्यत्रको जस्तो ठूलो ‘लकडाउन’ नगरीकनै दक्षिण कोरियाले कोरोना नियन्त्रणमा लिएको हो ।

जसका कारण केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको देशले महामारीलाई नियन्त्रणमा ल्याएर दक्षिण कोरियामा सरकारले वाहीवाही कमाएको अवस्था छ। मातृभुमि नेपाललले पनि यस बाटोलाई कडाईको साथ अबलम्बन गरि कोभिड १९ सँगको युद्ध जित्न अपरिहार्य छ।

(वैदेशिक रोजगारिका लागि इपिएस मार्फत कोरिया पुगेका लेखक पौड्याल हाल दक्षिण कोरियाको एक उत्पादनमूलक कम्पनीमा कार्यरत रहेका छन्।)