स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने अग्रवाललाई थप १० दिन हिरासतमा राखिने

0
Shares

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई थप १० दिन हिरासतमा राखिने भएको छ

आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप अनुसन्धान गर्न १० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रशासनले यसअघि पनि दुईपटक गरेर १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, जसको म्याद शनिवार नै सकिएको थियो।

त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आइतवार अग्रवाललाई जिल्ला प्रशासनमा उपस्थित गराएकोे थियो।

अग्रवालमाथि लगाइएको आरोपबारे अझै अनुसन्धान सकिएको छैन। हिरासतमै राखेर थप अनुसन्धान गर्नुपर्ने देखिएपछि थुनामा राख्न म्याद थप गरिएको हो । जिल्ला सरकारी वकीलको कार्यालयका सूचना अधिकारी नुमराज खनालले हिरासतमा नै राखी अग्रवालमाथि थप अनुसन्धान गर्न अनुमति दिएको पुष्टि गरे ।

मुलुकको ठूलो व्यावसायिक समूहसँग सम्बद्ध अग्रवाल चैत २५ गते ज्वरो नाप्ने थर्मल गन बढी मूल्यमा विक्री गरेको आरोपमा रंगेहात पक्राउ परेका थिए । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखको विशेष टोलीले गत चैत २५ गते उनलाई पक्राउ गरेको थियो । त्यसपछि महानगरीय प्रहरीपरिसरले उनी माथि कालोबजारी ऐनअन्तर्गत मुद्दा अगाडि बढाएको छ । अग्रवाललाई कालोबार बजारी ऐनअन्तर्गत मुद्दा अगाडि बढाइएको छ ।

प्रहरीका अनुसार अग्रवालले ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा विक्री गरेका थिए । प्रहरीले उनीबाट ६७ थर्मल गन बरामद पनि गरेको थियो ।