विदेशबाट फर्किएका श्रमिकलाई उद्यमशिलतामा सहभागी गराउन कार्यदल गठन

0
Shares

सरकारले लकडाउनका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका मजदुरलाई उत्पादनशील उद्यमशिलतामा सहभागी गराउन विशेष योजना ल्याउने जनाएको छ।

योजनाको खाका तयार गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ।

कार्यदलमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधी सदस्य छन्। नव गठित कार्यदललाई १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिएको छ।

आइतबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधीहरुको बैठकले सो कार्यदल बनाउने निर्णय गरेको हो।

बैठकले कोभिड १९ का कारण विश्वभरी रहेका नेपाली युवाहरुले रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा वैठकले औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधीको पारिश्रमिक दिने निर्णय पनि गरेको छ।

बैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरी उद्योग सञ्चालन गर्न उच्चस्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ।