घर फर्कनेहरु थानकोट उद्यानमै थन्किए

0
Shares

दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएका छिन् । उनको मन उकुसमुकुस भएको छ । चौधरीको मन भतभती पोलिरहेको छ । उनकी छोरी घरमा सिकिस्त बिरामी छिन् । त्यसैले उनलाई घर नपुगी भएको छैन । पाँच महिनादेखि चौधरी काठमाडौँमा ज्यामी काम गर्दै आएका थिइन्।

शनिबार राति छोरी बिरामी भइन्, के गर्ने भनेर उनलाई घरबाट फोन आएको थियो । उनका श्रीमान् पनि यतै छन्। “घरमा सासूससुरा मात्रै हुनुहुन्छ”, आइतबार थानकोट उद्यानमा भेटिएकी चौधरीले भनिन्, “घर पुग्नैपर्ने भएको छ, छोरीलाई अस्पताल लैजान सक्ने घरमा कोही हुनुहुन्न।” काठमाडौँको टोखास्थित घर निर्माणको काम गर्दै आएको चौधरी सहितको १२ जनाको समूह पैदल नै घर फर्कन निस्केको थियो ।

थानकोट पुगेपछि उनीहरुले घर फर्कनेका लागि बसको व्यवस्था गरेको छ भन्ने जानकारी पाए । उनीहरु उद्यानको प्रवेशद्वारमा खटिएको प्रहरीलाई आ–आफ्नो नाम टिपाएर भित्र प्रवेश गरे ।

“ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भन्नुभएको छ, हामीसित भएको पैसो सकियो”, कैलाली भजनीकै गीता डगौराले भने, “पैदलै भए पनि घर फर्कन्छौँ ।” उनी तीन वर्षको छोरीसहित पैदल नै घर जान निस्किएका थिए । भजनीको चौधरी र डगौराको समूह दैनिक ६०० ज्यालादारीमा काम गर्दै आएका थिए। “भएको पैसो पहिल्यै घर पठायौँ, अहिले यस्तो अवस्था आउला भन्ने थाहै भएन”, डगौरा समूहकी सपनाले भनिन्।

बाग्लुङको काठेखोला धम्जाका ढकबहादुर श्रीष ११ वर्षीय छोरोसहित नागढुङ्गातर्फ जान खोज्दै थिए। काठमाडौँमा मजदुरी गर्दै आएका उनलाई बसमा जान पाउने विश्वासै लागेन । उनको पैदल नै घर फर्कने इच्छा थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीले भने दिएनन् ।

बाबु–छोरालाई प्रहरीले थानकोट उद्यानभित्र पठायो । महानगरीय प्रहरी वृत्तका अनुसार आइतबार साँझसम्म थानकोट उद्यानभित्र झण्डै ३०० जनालाई प्रवेश गराइएको छ । घर जान हिँडेका उनीहरु उद्यानमै थन्किएका छन् । यसरी थन्किनेमा महिला तथा बालबालिका समेत छन् । उनीहरुलाई प्रहरीले रोकेर राखेको छ ।

पैदल नै घर फर्कनेहरुलाई प्रहरीले कलङ्की–थानकोट सडक खण्डमा ठाउँठाउँमा रोक्ने गरेको छ । यसरी पैदल घर फर्कनेहरु कतिपय त्रिभुवन उद्यानमा प्रहरीलाई नाम ठेगाना टिपाएर भित्र पसिरहेका छन् । दुई दिनदेखि यो क्रम जारी छ ।

उद्यानभित्र थन्किएकाहरु बस चढेर घर फर्कन पाउने नपाउने टुङ्गो भने छैन । शनिबार राति ७ वटा बसमा अलपत्र परेकाहरुलाई घर पठाइएको थियो । काठमाडौंमा डेरा गरी बस्नेहरु पनि ‘घरबेटीले घर भाडा माग्यो’ भनेर बहाना बनाउँदै थानकोट आउन थालेका छन् ।

पैदल नै घर फर्किरहेका झण्डै ३०० लाई सांसद अञ्जना विशङ्खे र वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले उद्धार गरी बसमा घर पठाइएको थियो । यसरी पठाएको खबर फैलिएपछि अहिले बस चढेर जान चाहनेहरुको कलङ्की–थानकोट सडकभरि लर्को लाग्न थालेको छ। काठमाडौंमा डेरा गरी बस्नेहरु झिटिगुन्टा बोकी थानकोट उद्यानमा आउन थालेका छन्। उनीहरुलाई घर पठाउन हम्मेहम्मे परेपछि आइतबारदेखि बस चढाउने काम बन्द गरिएको छ।

“काठमाडौं बाहिरका टाढादेखि पैदल हिँडेर आएका अलपत्र परेकालाई उद्धार गर्न खोजेका हौं, अहिले त यहीँ वरपर डेरा गरी बस्ने सबै आउन थालेका छन्”, थानकोट उद्यानभित्र भेटिनुभएकी सांसद विशङ्खेले भनिन्, “अब यहीँ उद्यानभित्र क्वारेन्टाइनमा राख्छौं, घर पठाउन सकिँदैन ।” यहीँ वरपर बस्नेलाई डेरामै फर्काउन थालिएको उनले बताइन्।

उद्यानभित्र सबैको स्वास्थ्य परीक्षण गरी राख्ने गरिएको छ । चन्द्रागिरि नगरपालिका, बलम्बुले त्यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको छ।
त्यहाँ खाने बस्नेसमेत व्यवस्था मिलाइएको छ । “उद्यानभित्र आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण अनिवार्य रूपमा गर्ने गरेका छौं”, स्वास्थ्य परीक्षणमा संलग्न नर्स कल्पना पाण्डेयले भनिन, “ज्वरो आए नआएको जाँच्ने हो, अहिलेसम्म कसैलाई पनि त्यस्तो समस्या देखिएन ।” आइतबार साँझसम्म २६८ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिइन्।