६४ करोड थान नेपाली नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

0
Shares

नेपाल राष्ट्र बैंकले चिनीयाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई ८५ लाख ३५ हजार ९०० रुपैयाँ अमेरिकी डलरमा ६४ करोड थान नोट छाप्ने जिम्मा दिएको जनाएको छ।

केन्द्रीय बैंकका अनुसार चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङकर्पोरेशनसँग  चैत २८ गते उक्त सम्झौता भएको हो। जसमा रुपैयाँ १० दरका ३४ करोड थान नोट छाप्नका लागि ४१ लाख ४० हजार ४०० अमेरिकी डलर र रुपैयाँ ५ दरका ३० करोड थान नोट छाप्नका लागि ४३ लाख ९५ हजार ५०० अमेरिकी डलरमा सम्झौता भएको हो।

बैंकले गत जनवरी १४ मा नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आह्वान गरि प्राप्त बोलपत्रहरुको मूल्याङ्कन गर्दा चिनियाँ कम्पनीले पेश गरेको न्यूनतम, सारभूत रुपमा प्रभावग्राही देखिएकोले सो जिम्मेवारी चिनियाँ कम्पनीले पाएको हो।

यसअनुसार उक्त कम्पनीले ५ रुपैयाँ दरका ३० करोड थान अर्थात १ अर्ब ५० करोड रुपैयाँ र १० रुपैयाँ दरको ३४ करोड थान अर्थात ३ अर्ब ४० करोड गरि कूल ४ अर्ब ९० करोड नेपाली रुपैयाँ छपाई गरि नेपाल राष्ट्र बैंकलाई बुझाउनेछ।

चिनियाँ केन्द्रीय बैंक पिपल्स् बैंक अफ चाइनाको प्रत्यक्ष नेतृत्वमा सञ्चालित चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पहिलो पटक वि.सं. २०७३ मा १००० रुपैयाँ अंकित दरमा २८.४ बिलियन अर्थात २८ अर्ब नेपाली नोट छपाइ गरी नेपाल पठाएको थियो।