दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

0
Shares

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ। राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो।

कोरोना भाइरस महामारी र लकडाउनको समीक्षा गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए।

ती मन्त्रीका अनुसार दल फुुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने अहिलेको प्रावधानमा परिवर्तन गर्न नयाँ अध्यादेश ल्याउन लागिएको हो। यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो। 

अध्यादेश मस्यौदामा समेटिने कुराबारे अहिले नै भन्न नसकिने ती मन्त्रीले जनाए।अध्यादेशले राजनीतिक दलसम्बन्धि ऐनको प्रावधानलाई संशोधन गर्नेछ ।

सोमबारको बैठकमा कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन एक महिना पुग्नलाग्दा त्यसले पारेको प्रभाव, कोरोना परीक्षण, विपन्नलाई राहतलगायत विषयमा छलफल भएको थियो।

पार्टीका दुई अध्यक्षबीच चिसो बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍मा यस्तो प्रस्ताव लगेका हुन् ।