नेपालमा कोभिड १९ को ३३ हजार ५६२ वटा नमुना परीक्षण, ३१ संक्रमित

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि कूल ३३ हजार ५६२ वटा परीक्षण भैसकेको जनाएको छ। जसमध्ये पीसीआर विधिबाट कूल ८ हजार ४१४ वटा र आरडिटी विधिबाट कूल २५ हजार १४८ वटा परीक्षण भएका हुन्।

सोमबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा ३ हजार ३४३ वटा नमुना परिक्षण भएको जानकारी दिए। जसमध्ये पीसीआर विधिबाट ३२४ वटा र आरडिटी विधिबाट ३ हजार १९ वटा परीक्षण भएको हो।

हालसम्म परीक्षण भएको संख्याबाट ३१ जनामा कोभिड १९ को पृष्टि भएको छ। संक्रमित ३१ मध्ये ४ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हाल विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रवक्ता डा. विकास देवकोटाले सोमबारसम्म सबै ७७ वटै जिल्लामा आरडीटी परीक्षण शुरु भैसकेको बताए।

उनले प्रदेश नम्बर १ मा २ हजार ३४९ वटा, प्रदेश नम्बर २ मा ३ हजार २३८ वटा, वाग्मती प्रदेशमा ४ हजार ६७६ वटा, गण्डकी प्रदेशमा ३ हजार ७५१ वटा, प्रदेश नम्बर ५ मा २ हजार ३२४ वटा, कर्णाली प्रदेशमा ३ हजार २३२ वटा र सुदूर पश्चिम प्रदेशमा ५ हजार ५७८ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको बताए।

उदयपुरमा आइतबार संकलन भएको थप १५२ जनाको नमुना परीक्षणको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको क्रममा रहेको छ।

मूलुकभर ५ हजार ९३६ जनालाई क्वारिन्टाइनमा राखिएको र सम्भावित संक्रमित हुनसक्ने आशंकामा १११ जना आइसोलेसनमा राखिएकोमा उपत्यकामा ४ जना र १०७ जना उपत्यकाका बाहिर रहेका समेत जानकारी दिए।

मन्त्रालयको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा २ हजार २८९ वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टर स्थापना गरेको छ। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या २१ हजार २९१ पुगेको छ। गत २४ घण्टामा ४५७ जनाले स्वमूल्याङ्कन फारम भर्दा ३ वटा गरि कूल २६३ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई ट्रेसिङ्ग र नमुना परीक्षको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।