राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।

सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

स‌ंवैधानिक परिषदसम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।