चालु आवको ८ महिनामा ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कूल ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस अवधिमा २५ अर्ब ५५ करोड बराबरको बोनस शेयर, २१ अर्ब ४६ करोड बराबरको डिबेन्चर,१२ अर्ब १६ करोड बराबरको साधारण शेयर, ५ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कूल.८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, २ अर्ब ७५ करोडको साधारण शेयर र १ अर्बको म्युचुअल फण्ड गरी २९ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ ।

  • नेप्से १७८ अंकले घट्यो

समीक्षा अवधिमा नेप्से १७८ अंकले घटेको छ। २०७५ फागुन मसान्तमा ११५५.५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ फागुन मसान्तमा १३७७.२ विन्दु कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९ रहेको थियो ।

धितोपत्र बजार पूँजीकरण वार्षिक बिन्दुगत आधारमा २४.७ प्रतिशतले वृद्धि भई २०७६ फागुन मसान्तमा १७ खर्ब ६० अर्ब ९३ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पूँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ फागुन मसान्तसम्ममा सूचीकृत ४ अर्ब ६९ करोड शेयर संख्याको चुक्ता मूल्य ४५९ अर्ब ४९ करोड रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ फागुन मसान्तमा २१२ रहेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १४८ बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४-४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटलको हिस्सा १.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: ८ वैशाख २०७७, सोमबार  १९ : २४ बजे