नेपाली सेनाले चीनबाट २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री ल्याउने

0
Shares

नेपाली सेनाले चीनबाट २ अर्ब २५ करोड बढीको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको छ ।

चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउन लागिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बराबरको स्वास्थ्य सामग्री जीटूजी प्रक्रियाबाट खरिद गर्नेछ। जसका लागि नेपाली सेनाले चिनियाँ सरकारी कम्पनी चिनियाँ साइनोफाम इन्टरनेसनल कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ।

स्वास्थ्य सामग्री खरिदका लागि नेपाली सेनाले राष्ट्र बैंकमार्फत् रकम पठाइसकेको छ। स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइने सेनाले जनाएको छ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १६ : २४ बजे