नेपालमा कोरोना संक्रमित संख्या ३२ पुग्यो, मंगलबार थप एकमा पुष्टि

0
Shares

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंगलबार गरिएको पीसीआर नमुना परीक्षणमा एक पुरुषमा कोभिड १९ को नजिता पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मंगलबार उदयपुरबाट संकलित ३३ वर्षिया पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर नमुना परीक्षणमा पोजेटिभ नतिजा आएको पृष्टि गरेका हुन्।

संक्रमित ३२ मध्ये ४ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हाल विभिन्न अस्पतालमा २८ जना उपचाररत रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

उदयपुर र वीरगञ्जमा संक्रमित बढेकाले ट्रेसिङ्गका लागि र अन्य कार्यमा सहजीकरणका लागि टोलीहरु परिचालन भएको र वीरगञ्जको ट्रेसिङ्गको शिलसिलामा २२१ जनाको पीसीआर विधिका लागि नमुना संकलन भैसकेको र आरडिटी विधिबाट परीक्षण भैरहेको उनले बताए।

यस्तै उदयपुरमा थप १०० जनाको पीसीआर विधिका लागि नमुना संकलन भैसकेको छ। यसअनुसार कूल ३२० वटाको पीसीआर विधिका लागि नमुना संकलन भैसकेको र आरडीटी विधिबाट नमुना परीक्षण भैरहेको प्रवक्ता देवकोटाले जानकारी दिए।