काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ

0
Shares

काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए।

आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए । नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ।

मंगलबार मात्रै ११ जनामा संक्रमणको पुष्टि भएको थियो । योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।