प्रदेश नं १ मा २८ जना कोरोना सङ्क्रमित

0
Shares

प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना सङ्क्रमित देखिएका छन्।हाल देशभर कूल ४८ जनामा कोरोना पुष्टि भएकामा आधा धेरै यसै प्रदेशमा रहेका छन्। सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन् । उनीहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

प्रदेशमा चार हजार ८१३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा तीन हजार ९२९ को नमूना परीक्षण गरिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल एक हजार ९२ पुगेको छ। २४ पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्। आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन्।

होम क्वारेन्टाइनमा जम्मा चार हजार ९१० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७९४ र पुरुष चार हजार ११६ छन् ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  ०८ : ५० बजे