वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तीन पसललाई कारवाही

0
Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र एन-९५ मास्क बिक्री वितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरेको छ ।

उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्री वितरण भएको र खरीद बिल नभएको पाएपछि कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालिमा पिपिई बढी मूल्यमा बिक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार ३ हजार ७०० मा खरीद गरिएको पिपिई सेटको ५ हजार ७०० (२० प्रतिशतभन्दा बढी नाफा) मा बिक्री गरेको पाइएकाले कारवाही गरिएको हो ।

त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरीद बिक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरेवापत दुई लाख जरिवाना गरिएको छ ।

सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन–९५ मास्क बिक्री वितरण गरेका कसूरमा तीन लाख जरिवाना गरिएको छ । तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।