विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै ५३ हजार

0
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख नाघेको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।

कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकमा मात्रै कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने ९ लाख २९ हजारभन्दा बढी संक्रमित बनेका छन्।

चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो । त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० देशमा फैलिएको छ ।

अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।