मन्त्रिपरिषद्को बैठक बस्दै, स्वरुप परिवर्तन गरेर लकडाउन लम्ब्याउने तयारी

0
Shares

लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हो।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा जारी गरेको लकडाउन थपघटबारे निर्णय गर्न बैठक बस्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गएको चैत ११ गतेदेखि लागु भएको लकडाउनको अवधी सोमबार बिहान सकिँदै छ ।

आइतबारको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएको छ ।

काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने र बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे बताइएको छ । सरकारले गत चैत ११ गतेदेखि देशमा लकडाउन गरिरहेको छ ।

हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो । सो समितिको बैठकले अझै एकसाता लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस समेत गर्ने निर्णय गरेको थियो ।

यसअघि शनिबार बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १० : १७ बजे