नेकपाका दुई सांसद र पूर्वआइजिपी खनाल विरुद्ध काठमाडौं प्रहरीमा उजुरी दर्ता हुँदै

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार प्रहरीमा उजुरी दिन पुगेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पुगेर आइतबार दिउँसो यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिएका पुगेका हुन्। जाहेरी दिन समाजवादी र राजपा एकीकृत भई बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी सहित धेरै सांसद तथा नेता प्रहरी परिसर पुगेका छन्।

जाहेरी दिन पुग्नेहरुको ठूलो उपस्थिति रहेपनि काठमाण्डौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नभएकाले जाहेरी दर्ता भने भइसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफ्ना सांसद यादवलाई अपहरण गरिएको दाबी जनता समाजवादी पार्टीका नेताहरुको रहेको छ। बैशाख ८ मा दल विभिाजन सम्बन्धि अध्यादेश ल्याएका प्रधानमन्त्रीले पूर्वप्रहरी महानिरीक्षक र दुई सांसदको प्रयोग गरि तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासका लागि महोत्तरी पुगेर अपहरणको शैलीमा १० वैशाखमा सांसद यादवलाई काठमाडौं ल्याएको सो दलको आरोप छ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइर्पुयाएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।

गत बुधबार राति सांसद यादवलाई काठमाण्डौं ल्याई मेरियट होटलमा राखिएको थियो भने भोलिपल्ट बिहानै होटलबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १६ : २१ बजे