नेकपाका दुई सांसद र पूर्वआइजिपी खनाल विरुद्धको उजुरी काठमाडौं प्रहरीले दर्ता गरेन

0
Shares

महानगरीय प्रहरी परिसर काठमाडौं टेकुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार प्रहरीमा दर्ता गर्न लागेको उजुरी दर्ता गर्न इन्कार गरेको छ।

अपहरणमा परेका समाजवादी पार्टीका सांसद यादव शरिर बन्धक बनाएको भन्दै जाहेरी दिन आइतबार दिउँसो आफ्ना नेताहरु सहित टेकु पुगेका थिए। परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका हुन्।

समाजवादी र राजपा एकीकृत भई बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी सहित धेरै सांसद तथा नेता प्रहरी परिसर पुगेका थिए।

जोहरी दर्ता नभएपछि प्रहरी परिसरबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ट्वीट मार्फत लेखेका छन् यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफ्ना सांसद यादवलाई अपहरण गरिएको दाबी जनता समाजवादी पार्टीका नेताहरुको रहेको छ। बैशाख ८ मा दल विभिाजन सम्बन्धि अध्यादेश ल्याएका प्रधानमन्त्रीले पूर्वप्रहरी महानिरीक्षक र दुई सांसदको प्रयोग गरि तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासका लागि महोत्तरी पुगेर अपहरणको शैलीमा १० वैशाखमा सांसद यादवलाई काठमाडौं ल्याएको सो दलको आरोप छ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइर्पुयाएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।

गत बुधबार राति सांसद यादवलाई काठमाण्डौं ल्याई मेरियट होटलमा राखिएको थियो भने भोलिपल्ट बिहानै होटलबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए।