श्रमिकलाई विना भेदभाव तलव उपलब्ध गराउन जिफन्टको माग

0
Shares

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक बिना भेदभाव उपलब्ध गराई असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व बृद्धी गर्न सकिने कुरा नबिर्सन जिफन्टले रोजगारदाताहरूलाई स्मरण गराएको छ ।

जिफन्ट राष्ट्रिय कमिटीको ९७ औँ भर्चुअल (अनलाईन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूती र कार्यथलोमा ब्यक्तिगत सुरक्षा सामग्रीको ब्यवस्था गर्न रोजगारदाता तथा नेपाल सरकारसँग माग गरेको छ ।

यसैगरी लकडाउनको अवधिमा स्वास्थ्य क्षेत्र, छापाखाना, सञ्चारगृहहरूमा कार्यरत श्रमिकहरूलाई निश्काशन गर्ने र बेतलवी बिदा बस्न दबाब दिने काम अविलम्ब रोक्न सम्बन्धित सबै रोजगारदाताहरूसँग जिफन्टले अनुरोध गरेको छ । यस्तो क्रियाकलापले श्रम बजारमा नयाँ द्वन्द्व उत्पन्न गर्ने तर्फ सबैको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

लकडाउन अवधिमा बिदा दिईएका कर्मचारी वा श्रमिकहरूले खाईपाई आएको तलव, भत्ता पाउने गरी नेपाल सरकारले राजपत्र प्रकाशन गरेकोमा जिफन्ट राष्ट्रिय कमिटी नेपाल सरकारलाई हार्दिक धन्यवाद पनि दिएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको सन्दर्भमा पनि छलफल भएको थियो । २८ अप्रिल संसारभरका श्रमिकहरूले विशेष महत्वकासाथ श्रमिक स्मृति दिवस मनाइने गर्दछ । मृत्यु भएका मृतकहरूको सम्झना तथा बाँचेकाहरूका लागि संघर्ष गर्ने अठोट गर्दै संसारभर हरेक वर्ष विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । जिफन्टले यस दिवसको अवसरमा हरेक वर्ष मर्यादित तथा सुरक्षित कामका लागि सचेतना फैलाउन विविध कार्यक्रम आयोजना गर्दै आएको थियो ।

जिफन्ट महासचिव जनक चौधरीद्दारा जारी विज्ञप्तीमा भनिएको छः अहिले हामी कोरोना भाईरस (कोभिड १९) को विरुद्ध विजय प्राप्त गर्न संघर्ष गरीरहेका छौँ । त्यसैले यस वर्ष हामीले “ कार्यथलोमा, महामारीलाई रोकौँ” भन्ने आव्हानसहित सन्देशमुलक तरिकाले सम्पन्न गर्दैछौँ ।

लकडाउन जारी रहेका कारण हामी सुरक्षित छौं भन्दै जिफन्टले लकडाउनको पूर्ण पालना गर्न र आफु, आफ्नो परिवार तथा समाजलाई कोरोना भाईरसको संक्रमणबाट बचाउन पनि अनुरोध गरेको छ ।

उच्च जोखिमका बीच कोरोना भाईरसको बिरुद्ध दिनरात खटिरहेका चिकित्सक, स्वास्थ्य परिचारिका, श्रमिक, सुरक्षाकर्मी, जिफन्टका सदस्यहरू एवम् जनचेतना जागृत गर्न निरन्तर सक्रिय रहेका सञ्चारकर्मीहरूप्रति जिफन्टले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।